बुधबार, भाद्र २४ गते २०८३
images

बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ : मन्त्री बस्नेत

एक्सप्रेस पाना
भाद्र २४, २०८० आइतबार
  • 421
    SHARES
  • बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ :  मन्त्री बस्नेत

    काठमाडौँ I स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने स्पष्ट पार्नुभएको छ। 

    images

    इजिप्टको राजधानी कायरोमा आयोजित जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किनुभएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै केही दिन पहिले कान्ति बाल अस्पतालमा पाँच वर्षीय बालिका रेजिशा गोपालीको समयमा उपचार नपाउँदा मृत्यु भएको घटनाका दोषीमाथि कारबाही हुने बताउनुभयो।

    उहाँले भन्नुभयो, “उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ हेरेको छु। मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ। जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ।”

    images

    मन्त्री बस्नेतले इजिप्टको कायरोमा सम्पन्न सम्मेलनमा जनसङ्ख्या बसाइँसराइँ र अव्यवस्थित बसोबासका कारण स्वास्थ्य क्षेत्रमा परिरहेको समस्या र ती समस्या समाधानका उपायहरूका विषयमा वृहत् छलफल भएको समेत जानकारी दिनुभयो। 

    जनसङ्ख्या र स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्दै एकैसाथ अघि बढाउन सकिए अन्य क्षेत्रको पनि विकास हुने उहाँको भनाइ छ। इजिप्टका स्वास्थ्य मन्त्रीले यसको आवश्यकतालाई ध्यानमा राखेर अर्को वर्ष पनि यो कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो।

    सम्मेलनमा सहभागी हुन आउनुभएका विभिन्न देशका स्वास्थ्य मन्त्रीहरू, दातृ निकायका प्रतिनिधि र राजनीतिक नेतृत्वहरूसँग आफूले भेटघाट गरेर रणनीतिक विषयमा छलफल भएको मन्त्री उहाँले जानकारी दिनुभयो। आगामी महिना हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को दक्षिण पूर्वी एसिया क्षेत्रका लागि क्षेत्रीय निर्देशकको उम्मेदवार बन्नुभएका नेपालका जनस्वास्थ्य विज्ञ डा शम्भु आचार्यका पक्षमा नेपाल सरकारको प्रतिनिधिका रूपमा र स्वास्थ्य मन्त्रीका हैसियतले सरोकारवाला देशका स्वास्थ्य मन्त्रीहरूसँग लबिङ गरेको उहाँले जानकारी दिनुभयो।

    इजिप्टको राजधानी कायरोमा यही भदौ १९ देखि २२ गतेसम्म जनसङ्ख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मन्त्री बस्नेत गत सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो।

  • सम्बन्धित विषय:

  • # रासस