शनिबार, भाद्र २७ गते २०८३
images

रास्वपाले बुझायो स्वास्थ्यमन्त्री यादवलाई २६ बुँदे सुझावपत्र

एक्सप्रेस पाना
चैत्र १५, २०८० बिहीबार
  • 279
    SHARES
  • रास्वपाले बुझायो स्वास्थ्यमन्त्री यादवलाई २६ बुँदे सुझावपत्र

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले स्वास्थ्य क्षेत्रमा सुधारका लागि उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई २६ बुँदे सुझावपत्र बुझाएको छ । 

    images

    बिहीबार स्वास्थ्य मन्त्रालयमा प्रतिनिधिसभा सदस्य तथा रास्वपाका स्वास्थ्य विभाग प्रमुख डा तोसिमा कार्की नेतृत्वको टोलीले उक्त सुझावपत्र बुझाएको हो । 

    आपतकालीन स्वास्थ्यसेवालाई राज्यको पूर्ण दायित्वभित्र पार्नुपर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै यसलाई सशक्त, सहज र पारदर्शी बनाउनुपर्ने, उपचार तथा स्वास्थ्य सेवामा शुल्क निर्धारणका विषयमा पुनरावलोकन हुनुपर्ने, चिकित्सक तथा स्वास्थ्य मानव स्रोतको सुनिश्चित व्यवस्थापन गर्न जति सक्दो छिटो आवश्यक दरबन्दी सिर्जना गर्नेलगायतका बुँदा सुझावपत्रमा समेटिएको छ । 

    images

    त्यसैगरी रास्वापाले अस्पताल तथा स्वास्थ्य संस्थामा खरिद गरिएका उपकरणको अवस्था बुझ्न, स्वास्थ्य क्षेत्रका नियमनकारी निकायलाई थप सक्रिय गराई समन्वयात्मक ढाँचामा स्वास्थ्यसेवा प्रदायकको अनुगमन र नियमनलाई तीव्र बनाइनुपर्ने र दीर्घकालीन रुपमा सबै नियामक गाभी ‘स्वास्थ्यसेवा नियमन परिषद्’ गठन गर्नुपर्ने सुझाव दिएको छ । 

    सुझाव पेश गर्दै डा कार्कीले भनिन्, “हामीसँग स्वास्थ्य क्षेत्रमा काम गर्ने विज्ञको टोली छ । स्वास्थ्यका विषयमा हामीले गृहकार्य गरेका छौँ । हामी सहयोग र सहकार्य गर्न तयार छौं ।” 

    सुझावपत्र बुझ्दै स्वास्थ्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा थुप्रै सुधारको आवश्यकता रहेको बताए । 

    चिकित्सक, स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षाका सन्दर्भमा विद्यमान कानुनलाई कडाइका साथ लागु गनुपर्ने, औषधि उत्पादनमा गुणस्तर सुनिश्चित हुने गरी नीति परिमार्जन गरिनुपर्ने, अनलाइन टिकटको व्यवस्था, इ–फलो अप, टेलिमेडिसिन, डिजिटल हेल्थ कार्डजस्ता सेवामुखी प्रविधिलाई उच्च प्राथमिकताका साथ प्रवद्र्धन गर्नुपर्नेलगायतका बुँदा सुझावपत्रमा समेटिएका छन् ।