काठमाडौं । केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अजुसार लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । यो क्रम २० गतेसम्म जारी रहने महाशाखाले जनाएको छ ।
आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागले बुलेटिनमार्फत चेतावनीसहितको सूचना जारी गरेको छ ।
विभागले भनेको छ, “तातो बढ्ने भएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ”, । महाशाखामा मौसमविद् रोजन लामिछानेले तातो बढेसँगै आगलागी, हावाहुरीलगायतका समस्या झन बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताए । उनका अनुसार यो वर्ष सबैभन्दा बढी ४३.६ डिग्री तापक्रम मापन भएको छ । भैरहवामा गएको २० तारिखमा उक्त तापक्रम रेकर्ड भएको थियो ।
सूचनामा भनिएको छ, “तराईका ती भू–भागमा आजदेखि आगामी २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । साथै पहाडी भू–भागका उपत्यका तथा खोचमा समेत तापक्रम क्रमिकरुपमा बढ्न सक्ने सम्भावना रहेकाले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहनु हुन अनुरोध छ ।”
यसको असरबाट बच्न सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।


