असोज १४ रुकुम । नेपालको कान्छो जिल्लाको रुपमा स्थापित रुकुम पूर्वलाई नेपालको ६१औं जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चितत जिल्ला घोषणा गरिएको हो ।
स्वास्थ्य कार्यालय तथा जिल्ला खोप समन्वय समितिले बुधबार सस्ने गाउँपालिकाको प्राङगनमा एक कार्यक्रमको आयोजना गरी यहाँका सबै बालबालिकाले पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो ।
सो अवसरमा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरे ।
जिल्लाका जन्मेदेखि १५ महिनासम्मका एक हजार तीन सय बालबालिका र १६ देखि २३ महिनासम्मका ९३४ बालबालिकाले पूर्ण रुपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रुकुम पूर्वले बताएको छ ।


