काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले सरकारी तथा निजी क्षेत्रको अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले उचित व्यवस्थापन गर्ने र स्वास्थ्य सेवा शुल्क निर्धारण गरिनुपर्ने बताएकी हुन् । उनले दरबन्दी थप्ने र त्यसको व्यवस्थापन गर्ने काममा पनि सरकारले ढिलाइ गर्न नहुने बताइन् ।
उनले भनिन् “स्वास्थ्यकर्मीको दरबन्दी थप्ने, उचित व्यवस्थापन गर्ने र स्वास्थ्य सेवा शुल्क निर्धारण गरिनुपर्छ,” ।
उनले मुलुकको स्वास्थ्य क्षेत्र लथालिंग भएकाले त्यसको नियमनमा उचित ध्यान दिन पनि सरकारलाई सचेत गराइन् ।
सांसद कार्कीले भनिन्,“स्वास्थ्य क्षेत्रलाई त सरकारले कहिल्यै पनि प्राथमिकतामा नराखेको हो कि भनेजस्तो मलाई भान हुन्छ । हुन त झट्ट हेर्दा ८६ अर्ब २४ करोड बजेट राखिएको छ । जुन गत वर्षको भन्दा दुई अर्ब २५ करोड बढेको हो । तर, कुल बजेटको प्रतिशत हेर्दा ४.६४ प्रतिशत मात्र छ । कोभिडको समयमा ८.६ प्रतिश पुगेको थियो । जुन अहिलेसम्मका हिष्ट्रीमा धेरै हो । त्यो पनि अपर्याप्त छ । विश्व स्वास्थ्य संगठनले नेपालजस्तो विकासोन्मुख मुलुकमा १० प्रतिशत बजेट छुट्टयाउनु स्वास्थ्यतर्फ भनेर स्पष्ट भनेको छ । जुन हामीले पटक–पटक भन्दै आएका छौँ । तर, त्यसतर्फ सरकारको कुनै प्राथमिकता परेको जस्तो मलाई लागेको छैन । स्वास्थ्य क्षेत्रका सबै लथालिंग भएको अवस्थामा यसको नियमन गर्नुपर्ने पनि अर्को पाटो छ,” ।
स्वास्स्थ्य बिमामा नागरिकको अधिकतम पहुँचमा पुर्याउनुपर्ने बताउँदै उनले आईटी पार्क बनाउने विषय असफल भइसकेकाले त्यसमा जोड दिने काम नगर्न पनि सरकारलाई सुझाव दिइन् ।
.jpg)


