काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले विकास खर्चमा सबै नागरिकको बराबर हक सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा उनले यस्तो बताएकी हुन् ।
सांसद कार्कीले डोटी जिल्ला अस्पताल भवन निर्माण कार्य सञ्चालन हुने गरी बजेटको व्यवस्था गर्न पनि आग्रह गरिन् । उक्त अस्पतालमा आईसीयू र डायलासिस सेवा तत्काल सञ्चालन गराउन उनले सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद कार्कीले असार मसान्तमा आएर जथाभावी बजेट खर्च नगर्न पनि सरकारलाई सचेत गराइन् ।
उनले भनिन्,“वर्षभरि काम नहुने अनि असार मसान्तसम्मचाहिँ जसरी पनि खर्च गर्नुपर्ने प्रेसरमा पर्याप्त अध्ययन नै नगरी जथाभावी अनावश्यक रूपमा दोहोर्याइ, तेहर्याइ सडकहरू पिच गर्ने, सरकारी भवन ठेक्का लगाउनेजस्ता कामले जनताको करको दुरुपयोग भइरहेको छ,” । “सुदूरपश्चिमको डोटी जिल्लामा भने राष्ट्रिय गौरवको योजना भनिएको खुटिया–दिपायल दु्रतमार्ग मात्र ८६ किलोमिटर पनि वर्षौँदेखि बजेट अभावका कारण अलपत्र छ । डोटी जिल्लाकै शिखर नगरपालिका वडा नम्बर–१० र ११ जोड्ने पुल ठेक्का लागेर पनि काम भएको छैन ।”
.jpg)


