काठमाडौं । नेपालको राजनीतिक इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्रीको रूपमा सुशिला कार्कीले सिंहदरबार प्रवेश गरेकी छिन्। पूर्व प्रधानन्यायाधीशको हैसियतले न्यायालयमा इमानदारी, पारदर्शिता र निर्भीक निर्णयका कारण समाजमा विशिष्ट छाप छोडिसकेकी कार्की अब कार्यपालिका नेतृत्वमा उकासिएकी छिन्।
नयाँ पुस्ता, विशेषगरी 'जेन जी' का युवाहरूले कार्कीलाई “परिवर्तनको प्रतीक” का रूपमा हेरेका छन्। उनीहरू पारदर्शिता, जवाफदेहिता, समावेशी नेतृत्व र पुराना राजनीतिक संरचनामा वास्तविक सुधारको अपेक्षा राख्छन्। तर, यदि कार्कीले पनि अघिल्ला नेताहरूझैँ ढिलो निर्णय, स्वार्थमुखी राजनीति वा असमान व्यवहार दोहोर्याइन् भने, पुनः आन्दोलन चर्किने चेतावनी पनि युवाले दिएका छन्। यस कारण उनका लागि पारदर्शिता र जवाफदेहिता नै सर्वोच्च प्राथमिकता बन्ने देखिन्छ।
उनको प्रधानमन्त्री पदमा आरोहण केवल ऐतिहासिक उपलब्धि मात्र होइन, भदौ २३ र २४ को जन आन्दोलनको प्रत्यक्ष परिणाम पनि हो। देशभर शान्तिपूर्ण प्रदर्शनबाट सुरु भएको आन्दोलन प्रहरीले गोली चलाउँदा रक्तपातमा बदलिएको थियो, जसमा दर्जनौँ युवाले ज्यान गुमाए। उनीहरूको बलिदानको न्याय दिलाउनु र क्षतिपूर्ति सुनिश्चित गर्नु अब कार्कीको प्रमुख जिम्मेवारी बनेको छ।
न्यायिक जीवनमा जस्तै राजनीतिक जीवनमा पनि कार्कीले सक्षम, इमानदार र समावेशी नेतृत्व देखाउनुपर्ने दबाब छ। उनले केवल युवाहरूको मात्र होइन, पुराना पुस्ता र सम्पूर्ण नेपाली जनताको विश्वास जित्नुपर्ने चुनौती बोकेकी छिन्।
आज नेपालको राजनीतिक दिशानिर्देशन, सामाजिक स्थायित्व र समग्र विकास सुशिला कार्कीको निर्णय र कार्यशैलीसँग प्रत्यक्ष रूपमा जोडिएको छ। उनको नेतृत्व अब केवल एक पदको कथा मात्र नभई, नयाँ पुस्ताको विश्वास, राष्ट्रिय समृद्धि र लोकतान्त्रिक मूल्यको संरक्षकको रूपमा इतिहासमा लेखिनेछ।


