काठमाडौं । आज विश्व निमोनिया दिवस । सन् २००९ देखि हरेक बर्षको नोभेम्बर १२ तारिखको दिन संसारभरि विश्व निमोनिया दिवस मनाइने गरिन्छ । सोही अवसरमा नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी विश्व निमोनिया दिवस मनाइँदै छ ।
संसारमा जन्म लिने हरेक बालक, चाहे उ संसारको जुनसुकै ठाउँमा जन्म किन नलियोस्, उसको पहुँचमा निमोनियाको औषधिहरू पुग्नै पर्छ भन्ने विशेष सोचलाई मध्यनजर गरेर विश्व निमोनिया दिवस मनाइन थालिएको हो ।
यसै सन्दर्भमा छाती तथा फोक्सो रोग विशेषज्ञ डा.नीरज पुरीसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेको छ ।
निमोनिया भनेको के हो ? यो रोग के कारणले र कसरी हुन्छ ?
निमोनिया एउटा इन्फेक्सन हो, जुन सर्ने रोगको श्रेणीमा पर्दछ । सामान्यतया सानो बच्चा र वृद्धहरूमा यो रोग बढी देखिन्छ, तर अहिले संसारका सबै उमेर समूहमा देखा पर्ने रोग बन्न पुगेको छ ।
निमोनिया खासगरी फोक्सोको इन्फेक्सन हो । फोक्सोमा एयर स्याक जस्ता स–साना संरचनाहरू हुन्छन्, जसलाई अल्भियोलाई भनिन्छ । यी अल्भियोलामा इन्फेक्सन हुनु नै निमोनिया हो ।
यो रोग ब्याक्टेरिया, भाइरस वा फङ्गस (ढुसी) का कारणले हुन सक्छ । खासगरी शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिहरूमा निमोनियाले गम्भीर असर पुर्याउन सक्छ ।
भाइरल संक्रमणहरू एक व्यक्तिबाट अर्कोमा सर्न सक्छन, भने ब्याक्टेरियल संक्रमण प्रायः समुदायबाट सर्छ । साथै, केही अवस्थामा अस्पताल वा स्वास्थ्य सेवा केन्द्रमा पुगेपछि पनि मानिसमा संक्रमण सर्न सक्छ । निमोनिया केवल सानो संक्रमण जस्तो देखिए पनि यसले अन्य रोग निम्त्याउनसक्छ र कहिलेकाहीँ ज्यानको जोखिम समेत हुन सक्छ । त्यसैले सचेत रहनु र समयमै उपचार गराउनु अत्यावश्यक छ ।
निमोनियाका लक्ष्यणहरु के–के हुन् ?
निमोनियाका मुख्य लक्षणहरुमा खोकी लाग्ने, श्वासप्रश्वासमा गाह्रो हुने, ज्वरो आउने धेरैलाई हुन्छ । अब, हाम्रो सिटी, एक्स–रे गर्दा खेरि फोक्सोमा दाग देखिने र रगतको जाँच गर्दा खेरि चाहिँ डब्लुबीसी काउन्ट, इन्फेक्सनको लेभल चाहिँ बढ्ने, मेन चाहिँ लक्षण यिनै हुन् ।
यो रागबाट बच्ने उपाय के–के हुन् ?
संसारभरीनै निमोनियासँग बच्ने नम्बर वान कुरा भनेको आफूलाई सुरक्षित राख्न मास्क लगाउने, हात सफा राख्ने, स्यानिटाइजर प्रयोग गर्ने र दोस्रो एकदमै महत्त्वपूर्ण कुरा भनेको चाहिँ सम्बन्धित व्यक्तिहरूले भ्याक्सिन लगाउने हो ।
सम्बन्धित व्यक्ति भन्नाले जसको इम्युनिटी कम छ, जसको उमेर धेरै छ, जसलाई फोक्सोको रोग छ, सुगर अन कन्ट्रोल छ, किड्नीका पेसेन्टहरू हुन्छन्, उहाँहरूले निमोनियासँग बच्ने भ्याक्सिन लगाउनुभयो भने चाहिँ संसारभरि बच्ने उपाय यिनै हुन् ।
कुन उमेर समूहको व्यक्तिलाई बढी निमोनिया हुन्छ ?
निमोनिया चाहिँ सबै उमेर समुहका मानिसलाई हुन्छ । सानो, ठूलो, ज्येष्ठ नागरिक सबैलाई नै हुन्छ । तर एकदमै धेरै देखिने भनेको चाहिँ पाँच वर्षभन्दा सानो र ६५ वर्षभन्दा माथिलाई धेरै देखिन्छ र किन यो, यो एज ग्रुपमा चाहिँ महत्त्वपूर्ण छ भने त्यति उमेरमा लाग्ने निमोनिया चाहिँ अरूलाईभन्दा अलिकति विशेष ध्यान दिनुपर्ने र अलिकति कडा निमोनिया हुनसक्ने भएको भएर, पाँच वर्षभन्दा सानो र ६५ वर्षभन्दा धेरैलाई चाहिँ धेरै लाग्न सक्छ, तर साधारणमा चाहिँ सबैलाई नै निमोनिया आउने चान्स छ ।
चिसोको समयमा निमोनिया हुने सम्भावना किन बढी हुन्छ ?
चिसो मौसममा हाम्रो वरिपरि धेरैजसो मानिसहरुलाई खोकी लाग्ने र निमोनिया देखिने क्रम बढ्दो छ । विशेषगरी हाम्रा दाजुभाइ, दिदीबहिनी सबैलाई अहिले त्यस्तो समस्या देखिएका छन् ।
विज्ञानका अनुसार चिसो मौसममा हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सामान्य भन्दा अलिकति कमजोर हुन्छ । त्यसैले नाक र मुखको नलीहरू चिसो हावामा संवेदनशील भएर अलिकति असर पर्ने गर्छ । यसले गर्दा शरीरमा ब्याक्टेरिया र अन्य कीटाणुहरू सजिलै प्रवेश गर्न सक्ने वातावरण तयार हुन्छ ।


