शनिबार, भाद्र २७ गते २०८३
images

गाउँमा देखिँदै दीर्घरोगको भार : रामेछापमा आयुर्वेद चिकित्सालयको घरदैलो उपचार

एक्सप्रेस पाना
माघ २३, २०८२ शुक्रबार
  • 185
    SHARES
  • गाउँमा देखिँदै दीर्घरोगको भार : रामेछापमा आयुर्वेद चिकित्सालयको घरदैलो उपचार

    काठमाडौं । एक समय संक्रामक रोगले थलिएको ग्रामीण समाज अहिले दीर्घरोगको चपेटामा पर्दै गएको संकेत रामेछापका गाउँ–बस्तीमा देखिन थालेको छ ।

    images

    मधुमेह (सुगर), उच्च रक्तचाप (प्रेसर), हाडजोर्नीसम्बन्धी समस्या र पेटका रोग ग्रामीण क्षेत्रमा बढ्दै गएपछि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप मन्थलीले सेवा मोडेल नै परिवर्तन गरेको छ । अब सेवा चिकित्सालयको सेव अस्पतालमा सीमित छैन, बस्तीमै पुग्न थालेको छ ।

    चिकित्सालयले टोल–टोलमा चिकित्सक, स्वास्थ्यकर्मी र औषधिसहितको टोली परिचालन गरी उपचार सेवा सुरु गरेको जनाएको छ ।

    images

    यसअघि गाउँ–गाउँमा पुगेर स्वास्थ्य परीक्षण र परामर्श मात्र दिँदै आएको चिकित्सालयले अब आवश्यक औषधिसहित प्रारम्भिक उपचारसमेत सुरु गरेको हो ।

    चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीका अनुसार गाउँस्तरमा गरिएको स्वास्थ्य परीक्षणले दीर्घरोगको वास्तविक अवस्था उजागर गरेको छ ।

    ‘पहिले हामी स्वास्थ्य जाँच र परामर्शमा सीमित थियौँ, तर परीक्षणका क्रममा धेरै नागरिकमा सुगर र प्रेसरको समस्या देखिएपछि औषधिसहित उपचार सेवा नै गाउँमा लैजानुपर्ने आवश्यकता महसुस भयो ।’

    ग्रामीण जीवनशैली र दीर्घरोग
    गाउँमा शारीरिक श्रम बढी हुने र प्राकृतिक खानपान हुने भएकाले दीर्घरोग कम हुने आम धारणा रहँदै आएको छ । तर पछिल्लो समय खानपानमा आएको परिवर्तन, बजारमुखी जीवनशैली, तनाव र नियमित स्वास्थ्य परीक्षणको अभावका कारण ग्रामीण क्षेत्रमा पनि मधुमेह र उच्च रक्तचापका बिरामी बढ्दै गएको चिकित्सकहरूको अनुभव छ ।

    स्वास्थ्य टोलीले गरेको परीक्षणमा उल्लेख्य संख्यामा सुगर र प्रेसरका बिरामी भेटिएका कार्कीले जानकारी दिए। साथै हाडजोर्नी दुख्ने, सुन्निने, शरीर झमझमाउने र पेटसम्बन्धी समस्या भएका बिरामीको संख्या पनि उल्लेख्य रहेको पाइएको छ । यस्ता समस्या दीर्घकालीन उपचार र नियमित निगरानीसँग जोडिएका विषय भएकाले गाउँमै सेवा पु¥याउने मोडेल प्रभावकारी हुने चिकित्सालयको विश्वास छ।

    साप्ताहिक घरदैलो सेवा
    चिकित्सालयका अनुसार प्रत्येक हप्ताको बिहीबार मन्थली र आसपासका बस्तीहरूमा स्वास्थ्य टोली पुग्ने गरेको छ । टोलीले प्रारम्भिक स्वास्थ्य परीक्षण, आवश्यक परामर्श, सामान्य औषधि वितरण तथा जटिल अवस्थाका बिरामीलाई चिकित्सालयमा आउन सिफारिस गर्ने गरेको छ ।

    ‘चिकित्सालयसम्म आउन नसक्ने, आर्थिक वा भौगोलिक कारणले सेवा नपाएका नागरिकलाई लक्षित गरेर यो कार्यक्रम सुरु गरिएको हो,’ कार्कीले भने ।

    ग्रामीण भेगमा स्वास्थ्य संस्थासम्म पुग्न यातायात, खर्च र जनचेतनाको समस्या रहने भएकाले घरदैलो सेवा प्रभावकारी देखिएको स्थानीयको भनाइ छ । यसले विशेषगरी ज्येष्ठ नागरिक र दीर्घरोगीलाई सहजता दिएको छ ।

    आयुर्वेद सेवाको विस्तार
    आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले विशेषज्ञ चिकित्सकमार्फत नियमित स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण, पूर्वकर्म तथा पञ्चकर्म सेवा सञ्चालन गर्दै आएको छ। पञ्चकर्म अन्तर्गत विभिन्न थेरापी, मालिस, मसाज, सिरोधारा र नस्यकर्म सेवा उपलब्ध छन्।

    त्यस्तै फिजियोथेरापी, अकुपञ्चर र ल्याब सेवा पनि सञ्चालनमा छन् । प्रत्येक सोमबार बिहान ‘होलबडी चेकअप’ सेवा प्रदान गरिँदै आएको छ ।

    सेवा विस्तारसँगै चिकित्सालयमा आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको कार्कीले बताए। घरदैलो कार्यक्रमले चिकित्सालयप्रति विश्वास बढाएको र नयाँ सेवाग्राही आकर्षित गरेको उनको भनाइ छ ।

    स्थानीय तहसँग सहकार्य
    चिकित्सालयले स्थानीय तहसँग सहकार्य गर्दै पालिका स्तरमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ । ती शिविरहरूमा पनि उल्लेख्य भीड लाग्ने गरेको छ। ग्रामीण क्षेत्रमा आयुर्वेद उपचारप्रति आकर्षण बढ्दै गएको संकेत यसले गरेको चिकित्सालयको दाबी छ ।

    स्वास्थ्य सेवा पहुँचको सवालमा राज्यका संरचना अझै चुनौतीपूर्ण अवस्थामा रहेको सन्दर्भमा रामेछापमा सुरु गरिएको घरदैलो उपचार कार्यक्रमलाई स्थानीय स्तरको पहलका रूपमा हेरिएको छ। दीर्घरोग बढ्दो चुनौतीका रूपमा देखिँदै गएको अवस्थामा यस्ता अभियानले प्रारम्भिक पहिचान र समयमै उपचारमा टेवा पु¥याउने अपेक्षा गरिएको छ। NNB

  • सम्बन्धित विषय:

  • # दीर्घरोग