बुधबार, भाद्र २४ गते २०८३
images

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ किन पक्राउ परे ?

एक्सप्रेस पाना
जेठ ५, २०८३ मंगलबार
  • 78
    SHARES
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईँ किन पक्राउ परे ?

    काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेका छन्। उनलाई सोमबार बेलुका वीरगन्जको आदर्शनगरस्थित दियोले होटेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

    images

    प्रहरी स्रोतका अनुसार प्रसाईँलाई ‘माथिको आदेश’ भन्दै नियन्त्रणमा लिइएको हो। उनी पक्राउ परेको पुष्टि भए पनि प्रहरीले हालसम्म कुन कसुर वा अभियोगमा पक्राउ गरिएको हो भन्नेबारे आधिकारिक रूपमा केही खुलाएको छैन ।

    महाअभियानको कार्यक्रमका लागि प्रसाईँ सोमबार दिउँसो सिमरा विमानस्थल हुँदै वीरगन्ज पुगेका थिए। जिल्ला प्रशासन कार्यालय पर्साले उनलाई वीरगन्जमा सभा तथा कार्यक्रम गर्न स्वीकृति दिइसकेको पत्र समेत सार्वजनिक भएको थियो।

    images

    प्रशासन आफैँले लिखित अनुमति दिएर पनि होटेलबाटै एक्कासि पक्राउ गरेपछि उनका समर्थकहरू तीव्र आक्रोशित बनेका छन्। पक्राउको विरोधमा प्रसाईँका समर्थकहरूलेराती नै वीरगन्जका विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन भने सरकार र प्रहरी प्रशासन विरुद्ध नाराबाजी समेत गरेका थिए ।

    सोमबार वीरगन्जका भिन्न९भिन्न स्थानीय कार्यक्रममा सहभागी भएका प्रसाईँ मंगलबार बिहान वीरगन्जको प्रसिद्ध धार्मिक स्थल गहवामाई मन्दिरको दर्शन गर्ने तयारीमा थिए। मन्दिर दर्शनपश्चात् उनको अन्य कार्यक्रम तय गरिएको थियो, तर त्यस अगावै प्रहरीले उनलाई होटेलकै कोठाबाट नियन्त्रणमा लियो।

    यसअघि वीरगन्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईँले यहाँ घर भत्काइएका नागरिकहरूलाई वीरगन्जमा नै स्थायी बसोबासको व्यवस्था मिलाउनुपर्ने तर्क अघि सारेका थिए। पछिल्लो समय उनी वर्तमान सरकार, सरकारका मन्त्रीहरू र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूमाथि विभिन्न राजनीतिक तथा व्यक्तिगत आलोचनासहितका आक्रामक टिप्पणी गर्दै आएका थिए।

    पक्राउ परेका प्रसाईँलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाईं