आइतबार, भाद्र २८ गते २०८३
images

विवेक मण्डलको परिवारसँग मधेश प्रदेशका गृहमन्त्री महतोको भेट

एक्सप्रेस पाना
आषाढ ३२, २०८३ बिहीबार
  • 64
    SHARES
  • विवेक मण्डलको परिवारसँग मधेश प्रदेशका गृहमन्त्री महतोको भेट

    काठमाडौं । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका स्वर्गीय विवेक मण्डलको परिवारसँग भेट गरेका छन् । मन्त्री महतोले मंगलबार साँझ मण्डलको निवासमा पुगेर शोकसन्तप्त परिवारसँग भेटघाट गरेका हुन् ।

    images

    उनले विवेकको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनलाई धैर्य धारण गर्न आग्रह गरे । साथै, यस दुःखद घडीमा प्रदेश सरकार परिवारको साथमा रहने र आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

    नेपाल न्यूज बैंकसँग कुरा गर्दै मन्त्री महतोले विवेककी श्रीमतीलाई प्रदेश सरकारमार्फत रोजगारी उपलब्ध गराउने बताए । आफ्नै क्षेत्रका नागरिकको पीडामा सरकार संवेदनशील रहेको उल्लेख गर्दै उनले परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइने बताए ।

    images

    विवेक मण्डलले गत शुक्रबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका थिए। शरीरको ८५ प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा सोमबार राति करिब २ बजे उनको निधन भएको थियो ।

    विवेकको निधनसँगै परिवार गम्भीर आर्थिक संकटमा परेको छ । परिवारमा उनकी श्रीमती, एक छोरा र एक छोरी छन् । परिवारका अनुसार गाउँघर तथा बैंकबाट लिएको गरी करिब ३५ लाख रुपैयाँ ऋण अझै तिर्न बाँकी छ । उनका दाई बैदेशिक रोजगारीका लागि कतारमा छन् ।

    यसैबिच, गोडैता नगरपालिकाले मण्डल परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । नगर प्रमुख देबेन्द्र यादवले तत्काल २५ हजार रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको र नगरपालिकाको खाता सञ्चालनमा आएपछि बाँकी ७५ हजार रुपैयाँ उपलब्ध गराइने जानकारी दिए ।

    उनले आर्थिक संकटमा परेको परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गर्ने निर्णय गरिएको बताए । मण्डलको निधनपछि प्रदेश सरकार र स्थानीय तहबाट सहयोगको प्रतिबद्धता आएसँगै परिवारले दीर्घकालीन आर्थिक सहयोग, रोजगारी तथा ऋण व्यवस्थापनमा समेत राज्यको साथको अपेक्षा गरेको छ ।

  • सम्बन्धित विषय:

  • # विवेक मण्डल