काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच छलफल भएको हो।
कुराकानी सकिएपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्। देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तार, गठबन्धनको साझा कार्यक्रमलगायतका विषयमा कुराकानी भएको बताइएको छ। उनीहरुबीच आजै मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको बुझिएको छ।
प्रधानमन्त्री देउवाले आजै सपथ समेत गराउने तयारी गरेको उनीनिकट एक नेताले बताए। सबै पक्षले नाम दिएमा आजै सपथ हुने बताउँदै ती नेताले भने, ‘केही कारण आज हुन नसकेमा भोलि शुक्रबार सपथ हुनेछ।’
देउवा प्रधानमन्त्री नियुक्त भएको दुई हप्ताभन्दा बढी समय भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन। मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहति तीन र माओवादी केन्द्रका तर्फबाट दुई जना मन्त्री बनेका छन्।
बुधबार बसेको गठबन्धनको बैठकमा तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो। प्रधानमन्त्री देउवाले पनि गठबन्धनका दलहरूले मन्त्रीहरूको नाम दिएपछि आफू मन्त्रिपरिषद् विस्तारका लागि तयार भएको जनाएका थिए।
.jpg)


