काठमाडौंँ, २१ असार
आन्तरिक विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदल पुनः सक्रिय भएको छ । पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा रुपान्तरणका लागि कार्यदलको बैठक शुरु भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो ।
सिंहदरबारमा आज बसेको बैठकले हालसम्मका अनौपचारिक छलफल पुनरवलोकन गरेको र पार्टीभित्रै बसेर आन्तरिक समस्या समाधान गर्ने कुरा भएको एमालेका सचिव गोकर्णराज विष्टले जानकारी दिनुभयो । कार्यदलको अर्को बैठक मङ्गलबार अपराह्न पुनः बस्नेछ । एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता गर्न आज साँझ ५ बजेसम्म समय दिइएका सन्दर्भमा कार्यदल सक्रिय भएको हो । नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकेपछि गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो ।
कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णुप्रसाद रिमाल तथा नेता माधवकुमार नेपाल पक्षबाट डा भीमबहादुर रावल,घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, रघुजी पन्त हुनुहुन्छ ।
नेकपा माओवादी केन्द्रसँगको २०७५ जेठ ३ गतेको एकतापूर्वको अवस्था उत्पन्न भएपछि एमालेका अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटीको विशेष बैठकबाट भएका निर्णयमा वरिष्ठ नेता झलनाथ खनाल र नेपाल पक्षले असन्तुष्टि जनाउँदै समानान्तर गतिविधि गर्दै आएको थियो ।कार्यदलको बैठकलाई नियमित रूपमा बढाउने निर्णय भएको छ । पार्टीभित्रका आन्तरिक समस्या गम्भीर रूपमा विश्लेषण गरेर समाधान गर्ने प्रयास गर्नेछौ’, बैठकपछि माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले जानकारी दिए । त्यस्तै, उनले मङ्गलबार बस्ने बैठकमा आवश्यक विषयमा छलफल गर्ने बताए । ‘भोलिको बैठकमा जुन जुन विषयमा छलफल गर्नु पर्ने हो र एमालेको सम्पूर्ण संस्थागत प्रणालीलाई सक्रिय तुल्याउनुपर्ने हो त्यो विषयमा छलफल गर्छौं’, रावलको भनाई छ । एक अर्काप्रति आशङ्काको दृष्टिकोणले हेर्दै आएका अध्यक्ष ओली पक्ष र माधव नेपाल पक्षबीच खासगरी आइतबार बेलुका अध्यक्ष केपी शर्मा ओलीसँग नेता भीम रावलबीच भएको छलफलसँगै कार्यदललाई औपचारिक रूपमा ब्युँताएर छलफल थालिएको हो
.jpg)


