काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति बैठक बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा जारी छ। बैठकमा ७३ जना केन्द्रीय सदस्य उपस्थित भएर हस्ताक्षर गरेको एक नेताले जानकारी दिए।
नेपाल पक्षका भनिएका सुरेन्द्र पाण्डे र योगेश भट्टराई बैठकमा उपस्थित भएका छैनन्। कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका कारणले उनीहरू उपस्थित नभएको बताएको छ। अन्य कतिपय नेताहरू उपत्यका बाहिर भएकाले पनि बैठकमा उपस्थित हुन नसकेको जनाइएको छ।
बैठकमा प्रत्येक सदस्यलाई तीन मिनेट समय उपलब्ध गराइएको छ। कैयौं सदस्यहरू आफ्नो पालोमा बोलेर बाहिरिने गरेका छन्। ‘आजै त बैठक सकिँदैन होला। बोल्न बाँकी सदस्यहरू निकै हुनुहुन्छ। सायद भोलिसम्म बैठक चल्ला,’ ती सदस्यले भने।
पार्टी एकताको सम्भावना क्षीण हुँदै गएको अवस्थामा आफू पक्षका नेताहरूको धारणा बुझ्नका लागि नेता नेपालले केन्द्रीय कमिटी बैठक आयोजना गरेका हुन्। आजको केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटीको बैठक बसेको थियो।
.jpg)


