काठमाडौँ । नेकपा एमालेको स्थायी समिति बैठक सुरु भएको छ। दिउँसो ३ बजे बस्ने केन्द्रीय समिति बैठकको एजेण्डाबारे छलफल गर्न स्थायी समिति बैठक बसेको हो। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा जारी बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन्।
विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न आजको बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। स्थायी कमिटीले विधान मस्यौदा प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीमा पेस गर्ने र सो प्रस्ताव साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइनेछ।
भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशन तोकिएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने बैठक रोक्न माग गरिरहेको बेला संगठनका काम कारबाही नरोकिने भन्दै एमाले संस्थापन पक्षले गतिविधि जारी राखेको हो। केही महिनायता एमाले ओली पक्ष र माधव नेपाल पक्षको छुट्टाछुट्टै बैठक बस्दै आइरहेको छ। आजको बैठकमा पनि एमालेको वरिष्ठ नेता झलनाथ खनाल माधवकुमार नेपाल समूह अनुपस्थित छ।
.jpg)


