काठमाडौँ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको हो। मुख्यमन्त्रीविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि बुधबार प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ।
मन्त्रिपरिषद् बैठक लगत्तै सत्तारुढ नेकपा एमालेको संसदीय दलको बैठक शुरु भएको छ । दुवै बैठकको निर्णय बारे मध्यान्ह १२ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।
विपक्षी गठबन्धनको समावेदनपछि लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाएका छन्। विपक्षी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरि विशेष अधिवेशन माग गरेका थिए।
यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षी गठबन्धनले बैशाख ६ र २६ गते अविश्वासको प्रस्ता दर्ता गरेका थिए। तर, ६ गते दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल हुने दिन बैशाख १९ गते मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिएर नाटकीय शैलीमा साँझ पुन एकल बहुमत दलको नेताका हैसियतमा पोखरेल नै मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
दोस्रो पटक मुख्यमन्त्रीमा पोखरेल नियुक्तप्रती विपक्षीले असंवैधानिक भन्दै आएका छन। विपक्षीका तर्फबाट नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुल प्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा ४२ सांसदहरुको हस्ताक्षर सहित दावी गरेका थिए। तर, पोखरेललाई नै नियुक्त गरेपछि विवाद चर्किएको हो। बैशाख २६ को अविश्वासको प्रस्ताव दर्ता भएपनि विशेष अधिवेशन आह्वान भएको थिएन।
सरकारलाई साथ दिएका तीन जनालाई जनता समाजवादी पार्टीले साउन १५ गते सांसद पद निलम्बन गरेपछि सरकार स्पष्ट अल्पमतमा परेको छ। सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव र कल्पना पाण्डे लम्साल सर्वोच्च पुगेपनि अन्तरीम आदेश नदिएपछि पोखरेल सरकार थप संकटमा परेको हो।
विपक्षीले अविश्वास प्रस्ताव बुधबार नै टुंग्याउने गरि तयारीमा जुटेका छन। सरकारकै योजनामा एमालेका सांसदले सर्वोच्चमा अविश्वास प्रस्ताव दर्ता विरुद्ध रिट दायर गरेर विशेष अधिवेशन लम्ब्याउन खोजेको छ। तर, कुनै पनि फैसला नभएकाले प्रदेशसभाले भने विशेष अधिवेशनको तयारी गरिसकेको छ। अविश्वास प्रस्तावलाई पारित गर्ने गरि विपक्षी गठबन्धनका सांसद भने लुम्बिनीको छलफलमा व्यस्त छन्।
लुम्बिनीमा सत्तासिन एमालेका ३८ सांसद छन्। जबकी बहुमतका लागि ४१ सांसदको समर्थन आवश्यक पर्छ। लुम्बिनीमा हाल ८० प्रदेशसभा सदस्य कायम छ। विपक्षी दल नेपाली कांग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरि ४१ सांसद छन। विपक्षी गठबन्धनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुल प्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको छ।
.jpg)


