काठमाडौं, असार २३ गते । नेकपा एमाले को अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल सम्मिलित नेताहरुबीच वार्ता जारी छ । होटल मेरियटमा करिब एक घण्टा अघिदेखि जारी बार्ताबाट ठोस सहमति हुने विश्वास गरिएको छ ।
ओली र नेता नेपाललाई पार्टी विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरूले कार्यदल तहमा भएका सहमति र हुनसक्ने प्रगतिबारे ब्रिफिङ गरेका थिए । ओली र नेपाललाई कार्यदलका नेताहरू नेपाल पक्षका कार्यदल संयोजक भीम रावल, सदस्य सुरेन्द्र पाण्डे तथा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङ छन । कार्यदलका सदस्य भीम रावलले पत्रकारहरुसँग भने, ‘कार्यदलका तर्फबाट कुराकानी गरिरहेको यहाँहरुलाई थाहा छँदैछ, शीर्ष नेताहरुवीच कुराकानी भयो । सकारात्मक दिशामा कसरी लैजाने भन्नेमा कुराकानी भइरहेको छ । फेरि कुराकानी हुनेछ । कुराकानीलाई गहिराइमा लानुपर्ने महसुस भएको छ । फेरि पनि कुराकानी गर्ने छौं । जति पनि वार्ता भइरहेको छ, समस्या समाधानका लागि भइरहेको छ ।’
सर्वोच्चमा वहस सकिएकै दिन गत सोमबारदेखि पुरानो कार्यदल व्यूँताएर दुवै पक्षबीच छलफल शुरुभएको थियो । दश सदस्यीय कार्यदलस्तरमा वार्ता सकारात्मक भएपछि अध्यक्ष तथा वरिष्ठ नेतालाई सहभागी गराएर सहमतिमा विट मार्ने तयारी यसअघि गरिएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागपत्रमा हस्ताक्षर गरेका एमाले सांसदहरुले हस्ताक्षर फिर्ता नलिने अडान राखिरहेका बेला अध्यक्ष तथा नेता नेपालबीच सहमतिको प्रयास गरिएको छ । सहमति भएर संयुक्त विज्ञप्ती जारी भएमा सर्वोच्चमा बुझाइएको हस्ताक्षर स्वतः निस्क्रियप्रायः हुनेछ ।
सर्वोच्च अदालतले असार २८ गते सोमबार फैसला सुनाउने तयारी गरिरहेकाबेला सो अघि नै पार्टी एकताको सन्देश दिनेगरी एमाले आन्तरिक वार्ता र संवादमा जुटेको हो । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल पक्षको माग सुनुवाई गर्ने विषयमा अधिक्तम लचिलो हुनुभएपछि पार्टी एकताको वातावरण निर्माण भएको छ ।
.jpg)


