काठमाडौँ । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट रहेका नेता र सांसदहरुसँग छलफल गरिरहेका छन्। नेपालले सिंहदरबारमा आफूपक्षीय नेता र सांसदहरुसँग छलफल गरेका हुन्।
ओलीसँग मिलेर एमालेमा रहन नसकिने निष्कर्षसहित माधव नेपाल नयाँ पार्टी निर्माण गर्ने तयारीमा छन्। स्रोतका अनुसार नेपाल पक्षले पार्टी विभाजनका लागि केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरेका छन्। विभाजनका लागि आवश्यक पर्ने संख्यामा केन्द्रीय सदस्यहरुको हस्ताक्षर जुटिसकेको बताइएको छ।
माधव नेपालले नयाँ दल निर्माणका लागि आवश्यक कागजात र बन्दोबस्तीको व्यवस्थापनका लागि नेता राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिएका छन्। पाण्डे हस्ताक्षर संकलनसहित अन्य आवश्यक कागजात जुटाउन लागि परेका छन्। एमाले विवाद उत्कर्षमा रहँदा पाण्डेले माधव नेपाल ओलीसँग मिल्न गए पनि आफू नजाने बताउने गरेका थिए।
पाण्डेलाई नै नेपालले दल विभाजन सम्बन्धी हस्ताक्षरसहितका कागजात जुटाउने जिम्मेवारी तोकेका हुन्। सरकारले दल विभाजन गर्न सजिलो हुने गरि आजै अध्यादेश जारी गर्दै छ। त्यसको निर्णय लिन अहिले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
.jpg)


