भदौ २, काठमाडौँ । नेकपा एमालेको अवरोधका कारण लुम्विनी प्रदेशसभाको बैठक आज पनि स्थगित भएको छ। आफ्ना दुई जना सांसदलाई पदमुक्त गर्न गरेको पत्राचारको सभामुखले बेवास्ता गरेको भन्दै एमालेले अवरोधपछि बुधबार पनि प्रदेश सभाको बैठक चल्न सकेन।
बुधबार दिउँसो १ बजेको लागि बोलाईएको बैठक ४० मिनेट ढिलो गरि बसे पनि सुरूमै एमाले सांसदले बैठकमा अवरोध गरेका थिए। एमालेले पार्टीको ह्वीप विपरित यसअघिको सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने विमला खत्री ओलि र वर्तमान सरकारका विना विभागीय मन्त्री अजय शाहीलाई पार्टीले कारबाही गरेको पत्र सभामुखलाई बुझाएको र उनीहरूलाई पदमुक्त गर्न माग गर्दै आएको छ।
सोही कारण बुधबारको बैठकलाई सभामुखले अगाडि बढाउन खोज्दा एमाले सांसदले रोष्टम घेराउ गरेका थिए। नेकपा एमालेका सांसद हरि रिजालले अजय शाही र विमला ओलीलाई पदमुक्त गरेको सूचना नसुनाएसम्म सदन चल्न नदिने बताएका थिए।
.jpg)


