आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रदेश–१ मा नेपाल समूह बलियो (सूचिसहित)

एक्सप्रेस पाना
भाद्र ३, २०७८ बिहीबार
  • 314
    SHARES
  • प्रदेश–१ मा नेपाल समूह बलियो (सूचिसहित)

    भदौ ३, काठमाडौँ । नेकपा एमाले विभाजित भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले समाजवादीको केन्द्रीय कमिटीमा प्रदेश १ बाट १५ जना नेताहरु समेटिएका छन्। बुधबार दर्ताको लागि निवेदन दिएको पार्टीमा वरिष्ठ नेताका रुपमा झलनाथ खनाल रहेका छन्।

    images

    प्रदेश १ बाट केन्द्रीय कमिटी सदस्यहरुमा जयन्ती राई (भोजपुर), जगन्नाथ खतिवडा (उदयपुर), घनेन्द्र बस्नेत (मोरङ), राजेन्द्र राई (भोजपुर), बलदेव चौधरी (उदयपुर), डा.देउमान सम्बाहाम्फे (मोरङ), भाष्कर काफ्ले (ताप्लेजुङ), रविन कोइराला (झापा), महम्मद महफुज अन्सारी (सुनसरी), नरेश खरेल (झापा) र महेश रेग्मी (मोरङ) रहेका हुन्।

    त्यस्तैगरि एमाले समाजवादीको केन्द्रमा प्रदेश १ बाट उदयपुरका सुरेश कार्की, पाँचथरका गणेश काङ्बाङ, मोरङकी विद्या चाम्लिङ मोरङ र उदयपुरकी दुर्गा परियार पनि रहेका छन्। उनीहरू भने केन्द्रमा नयाँ अनुहार रहेका छन्।

    images

    प्रदेश १ मा नेपाल पक्षीय भनेर चिनिएका एमालेका सचिवद्वय योगेश भट्टराई र भीम आचार्यको नाम नयाँ पार्टीको केन्द्रीय समितिमा छैन। उनीहरूले पछिल्लो समय पार्टी विभाजनको विपक्षमा आफ्नो मत राख्दै जसरी पनि ओलीसँग एकता गर्नुपर्ने पक्षमा उभिएका थिए।

    प्रदेशमा नेपाल पक्षका भनेर चिनिएका केन्द्रीय सदस्यहरु मोरङका जीवन घिमिरे र खोटाङका राजन राई, ओखलढुंगाका यज्ञराज सुनुवार पनि ९५ सदस्सीय केन्द्रीय कमिटीमा रहेका छैनन्। उनीहरूले माधव नेपालको साथ छाडेको हो कि हैन भन्ने खुलिसकेको छैन। यद्यपि, अधिकांश नेताहरू ‘पर्ख र हेर’को अवस्थामा छन्।

    नेपाल पक्षमा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, तेह्थुम, इलाम, धनकुटा, संखुवासभाबाट भने केन्द्रीय सदस्यमा कोही नेतको नाम रहेको छैन। कतिपय जिल्ला नेताहरू नेपालले दर्ता गरेको एमाले समाजवादी पनि हिजो वामदेवको मालेको अवस्थामा पुग्ने हो कि भन्ने डरले पनि तत्कालका लागि पार्टीमा नखुलेको बताइएको छ। यद्यपि, माधव नेपाल, प्रचण्ड र उपेन्द्रहरू एकीकृत हुने अवस्थामा धेरै नेताहरू फर्किने बताइएको छ।

    नेकपा एमाले विभाजन भएसँगै शेरधन राई नेतृत्वको प्रदेश १ सरकार धरापमा परेको छ। एमालेको एकल बहुमतीय सरकार गठन भएको प्रदेश १ मा एमाले विभाजनपछि सरकार धरमरमाा परेको हो।

    कुल ९३ प्रदेशसभा सदस्य रहेको प्रदेश १ प्रदेशसभामा सत्तारुढ नेकपा एमालेका ५१ सांसद रहेका छन्। तर पार्टी विभाजनपछि त्यो अवस्था रहेको छैन। हाल एमाले समाजवादीमा प्रदेश १ का प्रदेशसभा सदस्यहरू लछुमन तिवारी, जीवन घिमिरे, लीलाबल्लभ अधिकारी, खिनु लङ्वा लिम्बू, उपेन्द्रप्रसाद घिमिरे, सरिता थापा, पदमकुमारी गुरुङ, होमकुमारी साँवा, गणेशकुमार काम्बाङ, सावित्राकुमारी रेग्मी, सुनिताकुमारी चौधरी, राजन राई, बलबहादुर साम्सोहाङ, यशोदा अधिकारी र कृष्णकुमारी राई खुलेर लागेका छन्।

    एमाले समाजवादीमा प्रदेश १ का अन्य प्रदेशसभा सदस्यहरु पनि खुलेर लाग्ने एमाले समाजवादी प्रदेश १ निकट स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रदेश १ मा एमाले र एमाले समाजवादीको अवस्था बराबर रहेको छ। नेपाल पक्षको राम्रो पकड रहेको प्रदेश १ मा एमाले विभाजनसँगै मुख्यमन्त्री राई नेतृत्वको सरकारको विकल्प खोज्ने प्रक्रिया थालिने विपक्षी गठबन्धनका नेताहरूले बताउन थालेका छन्।

    अब प्रदेश सरकार प्रस्ट बहुमतका लागि कम्तीमा पनि ४७ सांसद आवश्यक हुन्छ। तर, १५ जना सांसदले साथ नदिँदा प्रदेश १ मा मूख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार अल्पमतमा परी सकेको छ । नेपाल पक्षले साथ नदिँदा एमालेमा अब ३६ सांसदमात्र सीमित रहनेछन्। एमालेलाई बहुमतका लागि थप ११ सांसद आवश्यक हुने देखिन्छ। विद्यमान समीकरणमा एमालेलाई बहुमतको अंक गणित जुटाउन प्रदेश १ मा निकै कठिन रहेको छ।

    एमाले विभाजनपछि प्रदेश सभामा एमालेका ३६, काँग्रेसका २१, माओवादी केन्द्रका उपसभामुखसहित र नवगठित एमाले समाजवादीका १५–१५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १÷१ जना सांसद छन् । नयाँ सरकार बनाउनका लागि काँग्रेस, एमाले समाजवादी, माओवादी केन्द्र, समाजवादी पार्टीको जोड्दा ५४ सांसद पुग्छन्। यसकारण यही गठबन्धनबाट नयाँ मुख्यमन्त्री बन्ने पक्का धएको छ।