भदौ ९ काठमाडौं । निर्वाचन आयोगले प्रस्तावित नेकपा एकीकृत (समाजवादी) र जनता समाजवादी (लोकतान्त्रिक) पार्टी दर्ता प्रक्रियाका लागि आज बुधबार सनाखत गराउने भएको छ। प्रस्तावित नेकपा एकीकृत (समाजवादी) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वमा रहेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा रहेको छ ।
देउवा सरकारले दल विभाजन सजिलो हुने अध्यादेश ल्याएपछि सो पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो। राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नयाँ दल दर्ताका लागि संघीय संसद् वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनुपर्छ।
एमालेका सांसद तथा केन्द्रीय सदस्यहरूले वरिष्ठ नेता नेपाल अध्यक्ष हुने गरी नयाँ दल दर्ता गर्न निवेदन दिएका थिए। जसमा ५७ केन्द्रीय सदस्यको नामावली उल्लेख गरिएको थियो।
आज बिहान ११ः३० बजेदेखि २ बजेसम्म सनाखतको समय तोकिएको आयोगले जनाएको छ । केन्द्रीय सदस्यहरु भौतिकरूपमै उपस्थित भएर सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।
त्यस्तै जसपा (लोकतान्त्रिक) पार्टीमा २३ सदस्य रहेका छन्। आयोगले यसअघि जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्ष दलविहीन भएको थियो। सो पार्टीका ३७ सांसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा) मध्ये ठाकुरको पक्षमा १४ जना सांसदहरू रहेका छन्। नयाँ अध्यादेशअनुसार यति संख्या पार्टी विभाजनका लागि पर्याप्त रहेको छ।
.jpg)


