काठमाडौं । एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली यु-२० महिला फुटबल टोली आज स्वदेश फर्किएको छ ।
नेपाली टोली आज राती २ बजे स्वदेश फर्किएको एन्फाले जनाएको हो । टोलीलाई अखिल नेपाल फुटबल (एन्फा)का पदाधिकारीले स्वागत गरेका थिए ।
समूह बी मा रहेको नेपाल दुई खेलमा शतप्रतिशत नतिजाका साथ शीर्ष स्थानमा रहेर दोस्रो चरण प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा प्यालेस्टाइन र दोस्रो खेलमा नर्दन मारियाना आइसल्यान्डमाथि समान ६-० को जित निकाल्दै स्वदेश फर्किएको हो ।
युएईले नाम फिर्ता लिएपछि समूह बी मा नेपाल, प्यालेस्टाइन र नर्दन मारियाना आइसल्यान्ड मात्र प्रतिस्पर्धामा थिए ।
अब दोस्रो चरणमा कुल ८ देश छनौट भएका छन् । जसमा नेपालसहित अस्ट्रेलिया, चीन, भियतनाम, म्यान्मार, इरान, लेबनान र चाइनिज ताइपेइ छनोट भएका छन् ।


