काठमाडौं । नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले आइतबार संसदमा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले स्पष्टोक्ति दिएको छ । मन्त्रालयले प्रधानमन्त्रीको भनाइ ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमा वारपारको जग्गा उपयोगसँग सम्बन्धित रहेको जनाएको हो ।
मन्त्रालयका अनुसार नेपाल–भारत सीमाका केही क्षेत्रमा दशगजा अतिक्रमण र सीमा वारपार जग्गा भोगचलनको समस्या छ । संयुक्त प्राविधिक अध्ययनका क्रममा कतिपय स्थानमा नेपालको उपयोगमा रहेको जमिन भारततर्फ र भारतको उपयोगमा रहेको जमिन नेपालतर्फ पर्न सक्ने देखिएको उल्लेख गरिएको छ ।
यही प्राविधिक यथार्थकै सन्दर्भमा प्रधानमन्त्रीले संसदमा अभिव्यक्ति दिएको मन्त्रालयले स्पष्ट पारेको छ । साथै, सीमासम्बन्धी विवाद कूटनीतिक संवादमार्फत समाधान गर्न नेपाल प्रतिबद्ध रहेको पनि जनाएको छ ।
आइतबार बसेको बैठकमा प्रधानमन्त्री शाहले भारतले मात्र होइन नेपालले पनि भारतको सिमा मिचेको बताएका थिए ।
.jpg)


