काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले रास्वपाका सांसदहरुलाई लक्षित गर्दै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिरहेको आरोप लगाएकी छिन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हिजोसम्म नेपाल एक इन्च भूमि पनि नछाड्ने कुरा गर्नेहरू आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिरहेको बताएकी हुन् ।
उनले भनिन्,"हिजोसम्म नेपालको एक इन्च भूमि पनि नछाड्ने कुरा गर्नेहरु आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिडेका छन् । त्यो भन्दा दुखद् विषय अरु केही हुँदैन् । प्रधानमन्त्रीज्यूले हिजो व्यक्त गर्नुभएको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त गम्भीर विषय बनेको छ ।"
उनले प्रधानमन्त्रीको अभिव्यक्ति केवल व्यक्तिगत भनाइ नभई राज्यको सर्वोच्च पदबाट आएको भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताइन् ।
"प्रधानमन्त्री व्यक्ति होइन, संस्था हो । राज्यको सर्वोच्च संस्थाबाट आएको फितलो भाष्यले राष्ट्रिय संकट उत्पन्न गर्ने जोखिम बढाउँछ," उनले भनिन् ।
उनले यस्तो विषयलाई सामान्यीकरण गरेर टार्न नहुने बताउँदै नेताहरूको अभिव्यक्ति बचाउन राष्ट्रकै दाबी कमजोर पार्ने गतिविधि नगर्न आग्रह गरिन्।
उनले भनिन्,"देशको सीमा, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमान बहसका विषय हुन सक्छन्, तर नेताको एउटा अभिव्यक्तिलाई बचाउन आफ्नो राष्ट्रकै दाबी कमजोर बनाउने काम कदापि राष्ट्रवाद होइन ।"
.jpg)


