काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मंगलबार पुनः पदभार ग्रहण गरेका छन्।
राष्ट्रपति निवास शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उनी सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर पदभार सम्हालेका हुन्। पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेका छन्।
गुरुङले जेनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गरिने, केन्द्रीय अनुसन्धान ब्युरोलाई थप सुदृढ बनाइने तथा अनुसन्धानका क्रममा रहेका पुराना फाइलहरूको छानबिनलाई निष्कर्षमा पुर्याउँदै आवश्यक फाइलहरू पुनः खोलिने बताए ।
गुरुङले आफूविरुद्ध लगाइएका आरोपहरू नयाँ नभएको बताएका छन्। उनले आफूलाई विगतदेखि नै विभिन्न आरोप लगाउने क्रम जारी रहेको उल्लेख गर्दै यसलाई राजनीतिक र सामाजिक जीवनको चुनौतीका रूपमा लिएको बताए।
उनले भने, ‘धेरै जना खुसी पनि हुनुहुन्छ होला, धेरै जना दुःखी पनि हुनुहुन्छ होला जस्तो लाग्छ। म माथि लगाइएका आरोपहरू अहिलेबाट सुरु भएका होइनन्, जेनजी आन्दोलनदेखि नै लगाइएका हुन्। म त थेग्न सकुँला, तर आगामी दिनमा कुनै पनि नेपाली नागरिकको अपमान गर्न वा चरित्र हत्या गर्न कसैले प्रयास गरेको खण्डमा गृहमन्त्रालय यस विषयमा अत्यन्त संवेदनशील भएर हेर्नेछ।’


