काठमाडौं । सरकारले सवारी साधनमा कानुनविपरीत जडान गरिएका कालो स्टिकर हटाउने अभियान सुरु गरेको छ। अभियानको सुरुवात गृहमन्त्रीको अग्रसरतामा गृहमन्त्री र गृहसचिवको सरकारी सवारी साधनमा जडान गरिएको कालो स्टिकर हटाएर गरिएको हो।
गृह मन्त्रालयका अनुसार विद्यमान कानुनी व्यवस्थाअनुसार सम्माननीय राष्ट्रपतिज्यू र सम्माननीय प्रधानमन्त्रीज्यूबाहेक अन्य कुनै पनि विशिष्ट व्यक्ति तथा सर्वसाधारणले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ तथा सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम १२ बमोजिम तोकिएका सर्त पूरा गरी धरौटी राखेर अधिकतम २० प्रतिशतसम्म मात्र टिन्ट प्रयोग गर्न पाउने व्यवस्था छ।
यस व्यवस्थाविपरीत जडान गरिएका कालो स्टिकर तथा अत्यधिक टिन्ट हटाउन गृह मन्त्रालयले सम्बन्धित निकायलाई प्रभावकारी रूपमा कानुन कार्यान्वयन गर्न निर्देशन दिएको जनाएको छ।
मन्त्रालयले कानुन सबैका लागि समान हुने सन्देश दिन अभियानको सुरुवात आफ्नै नेतृत्वको सवारी साधनबाट गरिएको उल्लेख गर्दै सबै सवारीधनीलाई प्रचलित कानुनअनुसार मात्र टिन्ट प्रयोग गर्न आग्रह गरेको छ।


