काठमाडौँ । जसपा लुम्बिनी प्रदेशका पदरिक्त तीन जना सांसदले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएका छन् ।
शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा मन्त्री रहेका जसपाका सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव र कल्पना पाण्डेयले उपेन्द्र यादवको निर्णयलाई सर्वोच्चमा चुनौती दिन लागेका हुन् । उनीहरुलाई उपेन्द्रको सिफारिसमा माओवादीका प्रदेश सभामुख पूर्णबहादुर घर्तीले शुक्रवार पदमुक्त गरेका थिए । उक्त निर्णयविरुद्ध तिनै जना अदालत जान लागेका हुन् ।
मन्त्री सन्तोष पाण्डेयले यसअघि गरिएको कारबाहीको मुद्दा सर्वोच्चमा विचाराधीन रहँदारहँदै फेरि प्रदेशसभाले पद खारेज भएको भन्दै सूचना निकाल्नु कानुनविपरीत भएको बताए । ‘विचाराधीन मुद्दामा उपेन्द्र र सभामुखलाई पनि विपक्षी बनाइएको छ । त्यही विपक्षीले फेरि पद खारेज गरेको कसरी मान्य हुन्छ । त्यसैले हामी सर्वोच्च जानको लागि बाटोमा छौ,’ उनले भने ।
बैशाख १६ गते सुमन शर्मासहित चार सांसदलाई पद मुक्त गरिदिएपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै उनीहरुको पद थमौती गरेको थियो । सोही मुद्दामा उनीहरुलाई सर्वोच्च अदालतले भदौ १७ गतेको बोलाएको छ । तर, अन्तिम फैसला आउनुअघि नै पाटीले तीन सांसदलाई कारवाही गरेको छ । मन्त्री पाण्डेयले सभामुखले सत्ता टिकाउनका लागि विचाराधीन मुद्दा छँदाछँदै अर्को निर्णय गरेर अदालतको मानहानी गरेकाले उनलाई मानहानी मुद्दा लाग्ने बताए ।
.jpg)


