काठमाडौँ । कांग्रेसभित्र महाधिवेशनको दबाब बढेको छ । तत्काल नयाँ कार्यतालिका सार्वजनिक गर्नुपर्ने भन्दै भातृ संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र पेश गरेको छ । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षहरुले तोकिएकै समयमा पार्टीको महाधिवेशन गर्न नेतृत्वलाई दबाब दिएका छन्।
सबल कांग्रेस निर्माणका लागि युवा अभियान नामबाट बिहीबार पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले तत्काल महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् ।
कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिएको छ । तर क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन कार्यतालिकाअनुसार तल्लो तहका अधिवेशन हुन नसकेको छ । युवा नेताहरुले त्यसै कारण चौधौं महाधिवेशन अनिश्चित बनेको भन्दै यसले पार्टीको गरिमामा ठूलो क्षति पुगेको बताएका छन् । महाधिवेशन समयसीमाको अन्तिम क्षण पुग्दा पनि क्रियाशील सदस्यताको छानबिन गरी अन्तिम रुप दिन नसक्नुले नेतृत्वको महाधिवेशनप्रतिको प्रतिवद्धता र नियतमाथि समेत प्रश्न उठ्न थालेको उल्लेख गरेका छन् ।
‘विधान र नियमावली अनुरुप न्यायपूर्ण ढंगले क्रियाशील सदस्यताको विवाद समधान गरी धर्ना र अनशनलगायतका गुनासाहरुको सम्बोधन गर्दै तत्काल महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरियोस्’ उनीहरुले भनेका छन् ।
नेताहरुले विभिन्न राजनीतिक दलबाट नेपाली कांग्रेसमा समाहित हुने नेताहरुले पहिल्यैदेखि कांग्रेसकै समर्थक, सदस्य र शुभचिन्तक रहेका व्यक्तिहरुलाई नै कागजी रुपमा नवप्रवेशी बनाई हजारौं क्रियाशील सदस्यता वितरण गरेको उनीहरुले आरोप लगाएका छन् । उनीहरुले वडा तहबाट नै सिफारिसको आधारमा क्रियाशील सदस्यता वितरण गर्ने व्यवस्था कार्यान्वयन गर्न माग गरेका छन् ।
.jpg)


