काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले दक्षिण एसियाली मुलुक अफगानिस्तानमा विकिसत राजनीतिक घटनाक्रमप्रति आफू र आफ्नो पार्टी गम्भीर रहेको बताउँदै सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रचण्डले वर्तमान समयमा अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार र सुरक्षा गर्न माग गरेका छन्। साथै आफू र आफ्नो पार्टीको तर्फबाट नेपाली नागरिकहरुको उद्धारका लागि गम्भीर पहल गर्ने समेत बताए।
जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल दक्षिण एसियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति म र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। यस आपातकालीन अवस्थामा सर्वाधिक महत्वको कुरा त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र उद्धार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस्। यसका लागि मेरो व्यक्तिगत एवं पार्टीको तर्फबाट आवश्यक सम्पूर्ण पहल र सहयोग हुने पनि जानकारी गराउँदछु।’
.jpg)


