काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता भएको छ। मंगलबार बिहान जनता समाजवादी पार्टी (जसपा) का नेताहरू प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए।
नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतोसहित उक्त समूहका पाँच नेताले देउवासँग छलफल गरेको स्रोतले जानकारी दियो। निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्ष पार्टी विभाजनको तयारीमा छ। प्रधानमन्त्रीसँगको भेटमा नेता ठाकुरले चाँडोभन्दा चाँडो दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदिन आग्रह गरेका थिए।
‘महन्थ ठाकुरसहितका नेताहरू बालुवाटार आउनुभएको थियो। खास गरी उहाँहरूले जसपाको आधिकारिकता नपाएपछि अप्ठेरोमा परेको भन्दै सहजीकरण गरिदिन प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो,’ स्रोतले भन्यो। सरकारले सोमवार रातिदेखि संघीय संसद्को अधिवेशन अन्त्य गरेसँगै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चा छ।
यता, सत्ता गठबन्धनमै रहेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले भने त्यस्तो अध्यादेश ल्याउँदा आफ्नो पार्टीलाई असर गर्ने भन्दै आपत्ति जनाएको बुझिएको छ। यही बेला बालुवाटार पुगेर ठाकुर पक्षले दल विभाजन सम्बन्धी अध्यादेश माग गरेपछि उपेन्द्र यादव पक्ष थप झस्किन पुगेको छ। आजै सत्ता गठबन्धनको बैठक बस्ने भनिएको भए पनि टुंगो नलागेको बालुवाटार निकट स्रोतको भनाइ छ।
.jpg)


