भदौ २, काठमाडौँ । जनता समाजावदी पार्टी जसपाको पहिलो केन्द्रीय समिति बैठक काठमाडौँमा जारी छ। राजपा र समाजवादी पार्टी एकीकरण भएर जसपा बनेको १६ महिनापछि पहिलोपटक केन्द्रीय समिति बैठक बसेकको हो। जसपाको केन्द्रीय समितिको पहिलो बैठकको पहिलो दिन मंगलबार विवाद चर्किएको छ ।
अध्यक्ष उपेन्द्र यादवलाई मञ्चमा बस्न अन्य नेताहरूभन्दा फरक सोफाको व्यवस्था गरिएको भन्दै बैठकमा विवाद भएको हो। संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्षीय केन्द्रीय सदस्यहरूले विरोध गरेका थिए। पार्टीको पहिलो वरियतामा रहेका भट्टराईलाई छेउमा बस्न लगाएर अध्यक्ष यादव आफू छुट्टै सोफामा (बीचमा) बसेको भन्दै उनका समर्थकहरूले विरोध जनाउँदै नाराबाजी गरेका थिए।
यादवको विरोधमा नाराबाजी गर्दै केन्द्रीय सदस्यहरू मञ्चतर्फ अगाडि बढ्न थालेपछि संघीय परिषद अध्यक्ष भट्टराईले हस्तक्षेप गरे। भट्टराईको हस्तक्षेपपछि केन्द्रीय सदस्यहरूको नाराबाजी रोकिएको थियो। असमझदारीका कारण बैठकमा केहीबेर तनावको अवस्था बनेको एक केन्द्रीय सदस्यले बताए।
‘बाबुरामजी र उपेन्द्रजी बस्ने सोफाको रंग फरक परेर साथीहरूमा केही ‘मिसअन्डरस्ट्यान्डिङ’ भयो, कतिपयले आसन ग्रहण नगराइएको भन्दै असन्तुष्टि जनाउनुभयो,’ ती केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय समिति बैठकमा आसन ग्रहण गराउने परम्परा नरहेको थाहा पाएपछि माहोल साम्य भयो।’
मंगलबारदेखि सुरू भएको जसपा केन्द्रीय समिति बैठकमा दुई प्रतिवेदन पेश भएको छ। बैठकमा राजेन्द्र श्रेष्ठले पार्टीको आगामी कार्यदिशाबारे राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने मृगेन्द्रकुमार सिंह यादवको तर्फबाट सांगठनिक प्रतिवेदन पेश भएको छ। दुवै प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ। दुवै प्रतिवेदन पारित गरेर बुधबार केन्द्रीय समिति बैठक सम्पन्न हुने नेताहरूले जनाएका छन्।
.jpg)


