भदौ २, काठमाडौँ । एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पक्षमा ८५ भन्दा बढी केन्द्रीय सदस्य रहेको बताइएको छ। एमाले विभाजन अन्तिम अवस्था रहेकोमा अहिलेसम्म ६३ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको बुझिएको छ।
नेपाल पक्षका एक नेताका अनुसार केन्द्रीय सदस्यको संख्या अझै थपिँदैछ। केही केन्द्रीय सदस्यको हस्ताक्षर हुने भएकाले माधव नेपाल पक्ष पर्खिएर बसेको छ। नयाँ बानेश्वरस्थित अर्याल होटलमा जारी भेलामा माधव नेपाल पनि छन्। उनी केन्द्रीय सदस्यहरुको अन्तिम सूची लिएर निर्वाचन आयोग जाँदैछन्। त्यसको तयारीका लागि नेताहरू राजेन्द्र पाण्डे र रामकुमारी झाँक्री निर्वाचन आयोग पुगेर फर्किएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद संख्या पुर्याएमा दल विभाजन हुनसक्ने अध्यादेश जारी गरेलगत्तै नेकपा एमालेको माधवकुमार नेपाल पक्ष पार्टी विभाजनका लागि बढेको हो।
एमालेको नवौं महाधिवेशनबाट बनेको केन्द्रीय समितिमध्ये हाल २०३ जना छन्। त्यसमध्ये ६० कटेमा ३० प्रतिशत हुन आउँछ। अध्यादेशअनुसार माधव नेपालसँग ६० केन्द्रीय सदस्य दल विभाजनका लागि पर्याप्त संख्या हो। नेपालको पक्षमा पूराना र वैचारिक नेताहरू उभिएका छन्। नेपाल समूहमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम आचार्यदेखि रामकुमारी झाँक्रीसम्मका नेताहरू उभिएका छन्। एमालेको २०७ मध्ये बहुमत केन्द्रीय सदस्य नेपाल समूहमा रहे पनि पछिल्लो समय केही नेताहरू ओली समूहतिर लागेका छन्।
एमाले औपचारिक रूपमै विभाजनको डिलमा पुगेको बेला योगेश भट्टराई, भीम रावल लगायतका नेताहरू भने मझधारमा देखिएका छन्। पार्टी फुट्दा उनीहरू कुन कित्तामा लाग्लान् भन्ने कुरा अहिलेसम्म टुंगो नलागेको एक नेताले बताए। स्रोतका अनुसार नेपाल समूहले दर्ता गर्ने पार्टीको नाम नेकपा एमाले (समाजवादी) रहनेछ। एमाले (समाजवादी) को केन्द्रीय समिति ९५ सदस्यीय रहने बताइएको छ।
.jpg)


